अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

File Photo
File Photo

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।

जसमा मोरङकाे विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्रामसहित सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

त्यस्तै झापाकाे बिर्तामोड नगरपालिका-१ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित  बुधबार दिउँसो पक्राउ गरेको हो। 

यसैगरी झापाकाे झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्रामसहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत-१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

त्यस्तै बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २९ वर्षीय युबराज शाहीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी बुधबार राति पक्राउ गरेको हो।

यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-११ खानेपानी ट्याङकी बस्ने २७ वर्षीय राज कुमार थारूसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बुटाबाट चप्परगौडीतर्फ जाँदै गरेको भे.१ ह ७६९८ नम्बरको अटोमा सवार उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो।

यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-२ मनकामना चोकस्थित होटल डिभान्डीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बिकाशनगर बस्ने २२ वर्षीय राम बहादुर विक र १९ वर्षीय राकेश विक रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त होटलको १११ नम्बरको कोठामा बसेका उनीहरूलाई गएराति पक्राउ गरेको हो।

त्यस्तै रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१० मसानघाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २० वर्षीय अभिषेक सोरहिया मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ एवी ४६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक अभिषेकलाई बुधबार साँझ पक्राउ गरेको हो।

त्यसैगरी कैलालीकाे धनगढी उपमहानगरपालिका-७ जोखर तालबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।

त्यस्तै मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागुऔषध गाँजा करिब ३३ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय विनोद सेवा र सोही उपमहानगरपालिका-१३ वनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी बिहीबार बिहान चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: : 2024-08-01 14:52:00

प्रतिकृया दिनुहोस्