अवैध लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ परेका ५१ वर्षीय लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।
बुधबार लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टाेलीले त्रिभुवन उनलाई अन्तर्राष्ट्रिय विमानस्थल पक्राउ गरेको थियाे।
कतार एयरवेजको उडानबाट नेपाल बुधबार आएका भल्टर्सलाई विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा उनको साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको कोकिन फेला पारी पक्राउ गरिएकाे प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार बरामद गरिएकाे कोकिनकाे अवैध बजार मूल्य अन्दाजी २१ कराेड ८ लाख रहेकाे प्रहरीले जनाएकाे छ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमाेजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।