हिमताल विस्फोटको कारण नै सोलुखुम्बुमा बाढी आएको हो: कार्यकारी प्रमुख पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सोलुखुम्बु जिल्लाको खुम्बु पासावन्हामु गाउँपालिका– ५ बानेखोलामा आएको भीषण बाढी धामे बजारबाट करिब ९ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोटका कारण भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लगातारको पानी र तापक्रम बढ्नाको कारणले गर्दा दुईवटा हिमताल विस्फोट भएको र घट्ना घटेको बताए।

उनले भने, ‘तापक्रम वृद्धिकै कारणले त्यो घटना घटेको हो त्यसमा दुईमत छैन्। वर्षा त्यति धेरै नभएपनि लगातार भइरहेको थियो र पानी र तापक्रमको कारणले गर्दा त्यहाँ भएको पहिलो लेक फुट्यो, पहिलोबाट फुटेर दोस्रो तालमा गएर ठोकियो तल्लो ताल जुन ठूलो ताल थियो भू-भाग कमजोर रहेछ र त्यसको मुख फुट्यो। मूल कारण भनेको नै तापक्रम बढ्नु हो। त्यसले गर्दा यो घटना घट्न गयो।’

रक्षामन्त्री मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालगायतको टोलीले धामेबजार पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नुका साथै स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरेको थियो।

पोखरेलले उक्त क्षेत्रको अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा श्रृंखलाबद्ध प्रभाव परेको बताए।

एकासी आएको बाढीले १३ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ। भने, १० वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी, एउटा विद्यालय भवन, एउटा स्वास्थ्य क्लिनिक र दुईवटा होटलमा पनि पूर्णक्षति पुगेको छ। चुम्नु विजुली कम्पनीको उपाम क्षतिग्रस्त हुँदा विद्युत उत्पादन बन्द भएको छ।

त्यस्तै सोताङ गापा– १को दिप्लीघाटमा स्टोर गरिराखेको पुरानो बेलिब्रिजको सामान बगाएर लगेको छ। भने, माप्य दुधकोशी गा.पा.– १ अधेरीस्थित सुम्यु क्षेत्र जोड्ने दुधकोशी खोलाको रिटल दूस पुलको एकतर्फी भाग भास्सिँदा आवागमन बन्द भएको छ। हाल पानीको बहाव घटेको भएपनि तटीय क्षेत्रमा कटान भएकोले केही स्थानमा पहिरोको जोखिम रहेको छ।

जल तथा मौमस विज्ञान विभागका अनुसार उक्त क्षेत्रनजिक रहेको फोर्स केन्द्रमा विगत सात दिनमा कूल ६५ मि. मि. वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा कमिक वृद्धि भई ९.७ बाट ११.० डिजी सेल्सियस पुगेको र साउन ३१ गतेको अधिकतम तापक्रम १५.१९ डिग्री सेल्सियस पुगेको थियो।

प्रकाशित मिति: : 2024-08-21 21:16:00

प्रतिकृया दिनुहोस्