मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ। आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो।
बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत र बिहान ६ः१५ बजे चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको उनले बताए।