लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री र पूर्वसभामुखको सेवा सुविधा खोसिएको छ। बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको हो।
यससँगै पूर्व विशिष्ट व्यक्तिले पाउँदै आएको गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा खोसिएको छ। २०७४ सालमा भएको निर्वाचनपछि प्रदेशमा विशिष्ट व्यक्तिका रुपमा रहेका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र पूर्वसभामुख पूर्णबहादुर घर्तीले उक्त सुविधा उपभोग गर्दै आएका थिए।
पूर्वमुख्यमन्त्री केसीले आफ्नो कार्यकालमा पूर्वविशिष्ट अधिकारीलाई १० वर्षसम्म सेवा सुविधा पाउने गरी कार्यविधि बनाएका थिए। उक्त कार्यविधि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरिदिएसँगै उनीहरूको सेवा सुविधा खोसिएको छ।
केसी अहिले प्रदेशको सांसद छैनन्। तर उनले सेवा सुविधा लिइरहेका थिए। घर्ती संघीय सांसद छन्। यस्तै पूर्वमुख्यमन्त्री लिला गिरी, जोखबहादुर महरा र डिल्ली चौधरीले पनि सेवा सुविधा लिँदै आएका थिए।
यद्यपि उनीहरू अहिले संसदीय दलको नेताका रुपमा उक्त सेवा सुविधा लिएको बताएका छन्। गिरीले भने केही समयअघि संसदीय दलको नेताबाट राजीनामा दिएपछि सेवा सुविधा फिर्ता गरेका थिए।
यसअघि १० वर्षे सेवा सुविधा पाउने कार्यविधि बनाउँदै गर्दा पनि आलोचना भएको थियो। तर तत्कालीन प्रदेश नेतृत्वले सुनेको थिए। फेरि संचारमाध्यममा समाचार आएपछि मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गरेको हो।