मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौँ: सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटरब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन्।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन्।

सांसद गैरेले भने, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरु निर्माणदेखि लिएर एउटा प्रक्रियामा हामी गयौँ, तर पनि समस्या चाहिँ विभिन्न रुपले यथावत छ।’

साथै उनले मिटरब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्ने बताए। जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता रहेको उनको भनाई छ।

यस्तै उनले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे।

‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुरसम्बन्धी घटना भइसकेपछि त्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रक्रियामा गयो अर्थात पुष्टि भयो भने त्यसपछि पनि ती व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिति छ, त्यसमा हामीले टाइट हुनुपर्यो’, सांसद गैरेले भने।

प्रकाशित मिति: : 2024-09-01 13:06:00

प्रतिकृया दिनुहोस्