अध्ययनका लागि नवलपरासी गएका प्युठानका २२ वर्षीय क्षितिज रोका क्षेत्री बेपत्ता भएका छन्।
प्युठानको मल्लरानी गाउँपालिका–४ का क्षितिज नवपरासीको गैडाकोटमा रहेको हिमछायाँ कलेजमा बिएसएजी बढ्दै थिए।
तेस्रो सेमेस्टरमा पढ्दै गरेका उनी शुक्रबार (भदौ १४ गते) देखि बेपत्ता भएका हुन्। गैडाकोटमा उनी कोठा भाडामा एक्लै बस्दै आएका थिए। शुक्रबारदेखि उनी कोठामा नरहेको उनका भाइ दिक्षितकुमार रोकाले जानकारी दिए।
क्षितिजले माबाइलसमेत साथमा लगेका छैनन्। कोठामा नै माबाइललगायत सबै सामान छाडेर बेपत्ता भएका हुन्। यद्यपि उनले कागजमा छोटोमा भाइ र बुबासँगको केही कुरा भने लखेर छाडेको तर के लेखेको छ भन्ने थाहा नभएको भाइ दिक्षितले बताए।
‘कागजमा बुबा र मेरो लागि छोटोमा लेखेर राखिएको थियो रे। त्यो पनि प्रहरीले लगेर पढ्न पाइएको छैन’, उनले भने।
दिक्षितकाअनुसार क्षितिजको घरमा केही विवाद भएको थिएन। बरु ४–५ दिनअघि मात्र भाइ दिक्षितलाई क्षितिजले राम्रोसँग पढ्नुपर्छ भन्दै सम्झाएका थिए।
अहिले क्षितिजको खोजीका लागि उनका बुबा–आमा नै गैँडाकोटमा छन्। प्रहरीमा निवेदन दिएर खोजीका लागि आग्रह गरेका छन्। तर बेपत्ता भएको ५ दिनसम्म कुनै आधारहरू प्रहरीले भेटाउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय नवपरासी पूर्वका प्रहरी इन्स्पेक्टर सुदीप भण्डारीले घटनाका सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा जानकारी गराइएको बताए। साथै उनको खोजी भइरहेको पनि जानकारी दिए।