नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन्।
विहिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ। प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। त्यो लोकतान्त्रिक हुन सक्दैन।’
महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको स्पष्ट गरे।
उनले भने, ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो। अमेरिकामा सयौँ वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ। संसदकाे जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र? तर, दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ। नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो। मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो।’