प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन्।
बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन्।
भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तीव्र इच्छा भएपनि प्रतिकूलताका कारण निर्माण कामहरु गर्न एकदमै गाह्राे भइरहेको बताए।
उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘छिटो सकाएर संसदको कामहरु भवनबाट छिटो गतिविध गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ। तर प्रतिकुलताहरु धेरै भएको कारण निर्माणको जिम्मा लगाएको टिमहरुले कामहरु गर्न एकदमै गाह्राे भइरहेको छ। काम गर्न लाग्दा लाग्दै पनि चाहिएको मेनपावरदेखि लिएर अन्य कुरा जुटाउन सकिरहनुभएको छैन। चैत्र २० भनेको अब सात महिना छ। त्यस समयभित्र बाहिरको भौतिक पूर्वाधारसम्म बनाइए पनि व्यवहारिक रुपमा अझै डेढ वर्षभन्दा अगाडि कार्यक्रमहरु गर्न नसक्ने हो कि भन्ने चिन्ता छ।’