काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएपछि मुख्य सडकहरूमा चर्काे जाम भएकाे छ।
बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माणलगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएपछि आसपासका क्षेत्रमा जाम भएकाे हाे।
अहिले लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथलगायत सडकहरूमा चर्काे जाम भइरहेको छ।
यसैगरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेललगायतका क्षेत्रमा पनि जाम भएकाे छ। जामले गर्दा सर्वसाधारणले सास्ती भाग्नु परेकाे छ।
यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयले केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको जानकारी गराएकाे थियाे।