नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भीर विडम्बना भएको बताएका छन्।
आइतबार बृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक नभएको बताएका हुन्।
‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भीर विडम्बना हो। यस्तो स्थिति बनेको छ अहिले। राजनीति त चाहियो तर सहि राजनीति चाहियो। यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन’, उनले भने।
यस्तै पोखरेलले नेपाली पहिचानको रक्षाको लागि साहित्य क्षेत्रले महत्व राखेको बताए। उनले नेपाली समाज, नेपाली सांस्कृतिकसँग साहित्य क्षेत्र सम्बन्धित भएको बताए।
उनले भने, ‘आजको कार्यक्रम नेपाली नाट्य विधामा मात्र नभएर नेपाली समाज, नेपाली साहित्य, सांस्कृतिकसँग सम्बन्धित छ। नेपाली पहिचानको रक्षा समेतको लागि महत्व राख्ने विषयका रुपमा साहित्यलाई लिएको छु।’
यस्तै उनले बृहत नाट्यग्रन्थ नेपाली नाट्य विमर्श जस्ता कार्यक्रमले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा पहिचान गराउने र चिनाउने सवालमा महत्वपुर्ण भूमिका खेलेको बताए।
‘नेपालको इतिहासको बारेमा वस्तुनिष्ट ढंगले सहयोग पुर्याएको छ। नेपाली पहिचानको रक्षा गर्नुपर्छ भन्ने एउटा जवर्जस्त भाव यसले दिएको छ’, पोखरेलले भने।