सिरहाको नरहा गाउँपालिका- १ गैराहाको मुसहर बस्तीमा गैरदलित यादवहरुले १० दिनदेखि नाकाबन्दी लगाएका छन्। नरहा गाउँपालिकाको वडा नं. १ मा मुसहर बस्तीमा स्थानीय गैरदलित यादवहरुले भदौं ३१ गतेबाट नाकाबन्दी लगाएका हुन्।
नरहा गाउँपालिका वडा २ का रामचलितर यादवका छोरा महेश यादवले ४५ घरधुरी रहेको मुसहर बस्तीको मुल बाटोमा काँडेतार लगाएर हिँड्डुल गर्न रोक लगाएपछि नाकाबन्दीमा मुसहर बस्ती परेको हो।१० दिनदेखि यादवहरुले घर आउने मूल बाटो बन्द गरेपछि उनीहरुलाई घर आवत जावतमा उनीहरुलाई समस्या परेको छ।
महेश यादवले बाटोको काँडेतार खोल्ने प्रयास कसैले गरे परिणाम नराम्रो हुने चेतावनी समेत दिएका मुसहर समुदायले बताएका छन्। मुसहर बस्ती वडा १ का स्थानीय माईजन जोगी सदाले आफुहरुलाई समय -समयमा यादव समुदायबाट धाक-धम्की दिए पनि अहिले आएर मूल बाटो नै बन्द गरी आफुहरुमाथि नाकाबन्दी गरेको उनले बताए। धान खेतमा काम नगरेको निहुँमा आफुहरुमाथि गाली-गालौज गरी धम्की दिएको सदाको गुनासो छ।
यादव परिवारले बेला बेलामा उठीवास लाउने धम्की दिने र काममा नगएको भन्दै घरमा आएर महेश यादवले गाली-गलौज गरेको मुसहर बस्तीकी ३१ वर्षिय सोनावत्ति सदाले बताइन्। उनले भनिन, ‘चारै तिरको जमिन मेरो हो, तिमीहरु बसेको बस्ती पनि मेरै हो,भन्दै आफूले भने जस्तो नगरे उठिवास लगाउँछु। ’
दलित अधिकारकर्मी संजय महराले मुसहर बस्तीमा यादवहरुले खेतमा काम नगरेको निहुँमा उनीहरुमा नाकाबन्दी लगाएको बताए। मालिकहरुले भनेको जसरी काम नगरेको निहुँमा यादवहरुले उनीहरुको बाटो बन्द गरी नाकाबन्दी गरी यादवहरुले जातीय आधारमा समेत गाली र धम्की दिएको महराको दावी छ।आफुहरुमाथि यादवहरुले गरेको नाकाबन्दी सम्बन्धी जिल्ला प्रशासन कार्यालय सिराहमा उजुरी लिएर विहिबार गए पनि उजुरी दर्ता हुन सकेको छैन।
भिडियाे-