काठमाडौंका बाढी पीडितको साथमा वडाध्यक्ष, एक हजार १६० को उद्दार

Break n Links
Break n Links

अबिरल वर्षासँगै आएकाे बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन्।

वडा नं. १०ले शनिबार विहान चार सय जनालाई खानाको व्यवस्था गरेको थियो। बेलुका ५ सय जनाका लागि व्यवस्था गर्यो। वडाध्यक्ष रामकुमार केसी भन्छन्, ‘अहिले पाँच सय जनालाई खानाको प्रबन्ध गरेका छौँ। अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ।’

बागमती नदीले वडा १० का शंखमुल, बुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ। बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो। यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ।

वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठकाअनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभावमा परेको महानगरले जनाएको छ। वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण गर्यो भने चार सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरेको थियो।

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ। वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ।

प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ। वडा सदस्य यता पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कुलका खानपानको व्यवस्था गरिएको छ।

शुक्रबारबाट परेको अविरल वर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो। यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए। यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए। यसका लागि चार वटा रेस्क्यु बोट (डुङ्गा)को प्रयोग गरिएको थियो।

काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका एक हजार १६० जनालाई उद्धार गरिएको थियो। खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो। ७४ वटा पशु चौपाया क्षति भएको र १ हजार ३४० वटा घर डुवान परेका थिए।

यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका पाँच जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो।

भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो।

बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुशी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन्। अविरल वर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीव्र बहाव आएको थियो।

प्रकाशित मिति: : 2024-09-29 12:27:00

प्रतिकृया दिनुहोस्