आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग ‘गौर हत्याकाण्ड’का हत्यारालाई कारवाही गर्न माग गरेका छन्।
गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्न ढिलाई किन गरिएको भन्दै उनले सरकारको आलोचनासमेत गरेका छन्।
बालुवाटारमा साेमबार साँझ प्रधानमन्त्री ओलीसँगको भेटघाटमा आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई छिटोभन्दा छिटो कारवाही गर्नुपर्ने बताए।
पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै अध्यक्ष साह हत्याराहरु खुलेयाम घुमिरहँदासमेत सरकार रमिते भएको आरोप प्रधानमन्त्रीकै अगाडि लगाए।
सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनले बताए।
‘सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए?’ आजपा अध्यक्ष प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रहरुलाई बोक्ने र विरोध गर्ने रविहरुलाई जाक्ने काम ठिक होइन।
उनले सरकारको समर्थन वा विरोध गर्ने आधारमा नभई प्रमाणका आधारमा कारवाही हुनुपर्ने बताए। तर सरकारले विरोध गर्ने विपक्षीलाई जेल हाल्ने र दोषी भए पनि सरकारको समर्थन गर्नेलाई बोक्ने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए।
‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्न सरकारले आलटाल गरिरहेको छ। हत्यारासंगै साठगाठ गरेको छ। यस्तो अवस्थामा पीडितले कसरी न्याय पाउँछ?’, आजपा अध्यक्ष साहले सञ्चारकर्मीसँग भने, ‘हामीले यस बारेमा पटक पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौँ। यसभन्दा अघिल्लो सरकारले कारवाहीका लागि पहल गरेको थियो। तर अहिले आएर सरकारले हत्यारासँगै साठगाठ गरेकाले हत्याराहरु खुलेयाम घुमिरहेका छन, सरकार रमिते भएको छ।’
विभेद गरेकोमा प्रभु साह आक्रोशित
यसैबीच आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसँग आक्रोशित भएका छन्। बाढीपहिरो, डुबानले तराई मधेस तहसनहन भएको अवस्थामा सरकारले बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्दा मधेससँग विभेद गरिएको आरोप साहको छ।
रौतहटसहितका जिल्लामा बाढी, डुबानले अर्बौको क्षति भएको बताउँदै उनले पीडितलाई न्याय दिन सरकारले चासो नदिएको उनले बताए।
‘तपाईंहरुले के आधारमा संकटग्रस्त क्षेत्र घोषणा गर्नुभयो? त्यसका के–के आधारहरु छन्, मलाई दिनसक्नुहुन्छ? बाढीपहिरो, डुबानले हामी जति पीडित छैनौँ, त्योभन्दा बढी यो सरकारको विभेदपूर्ण नीतिले पीडित बनेका छौँ’, आजपा अध्यक्ष साहले भने, ‘सरकारको नजरमा सबै नागरिक समान हुनुपर्ने हो, तर यो सरकारले मधेसका जनतासँग विभेद गर्दै आइरहेको छ।’
आजपा अध्यक्ष साहले मधेसका बाढी, डुबान पीडितलाई तत्काल राहत दिनुपर्ने, बाढी, डुबान रोक्नका लागि बागमती, बकैया, कोशीलगायतका नदीहरुमा तटबन्ध लगाउनुपर्ने सुझाव सरकारलाई दिएका छन्।