पूर्व गोर्खा सैनिक हरि बुढामगर बेलायतमा सम्मानित भएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूका बारेमा रूढीवादी धारणा तोड्दै आफ्नो सपना पूरा गर्न अरूलाई प्रेरित गरेकोमा उनलाई 'प्राइड अफ ब्रिटेन'काे विशेष पुरस्कारबाट सम्मान गरिएको हाे।
पुरस्कार प्राप्तपछि संक्षिप्तमा बुढामगरले भने, ' म एकदमै हर्षित छु।'
सन २०२४ मा बुढामगरलाई समावेशी, वकालत, वा जागरूकता प्रवर्द्धन गरेर सकारात्मक सामाजिक परिवर्तनलाई प्रेरित गर्ने व्यक्तिको रुपमा विशेष मान्यता स्वरुप 'स्पेशल रिकगनिसन' पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
बेलायती सेनामा पूर्व गोर्खा सैनिक रहेका हरिले सन् २०१० मा अफगानिस्तानमा आईईडी विस्फोट हुँदा दुवै खुट्टा गुमाएका थिए।
यद्यपि, उनले यो अप्ठ्यारोले आफूलाई परिभाषित गर्न दिन अस्वीकार गरे र असक्षमताले कसैको क्षमतालाई सीमित गर्दैन भनेर प्रमाणित गर्दै प्रत्येक महाद्वीपको अग्लो चुचुराहरू आरोहण गर्न सुरु गरे।
हालसम्म उनले मोन्ट ब्लाङ्क, किलिमन्जारो र डेनालीको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो घुँडा माथिको एम्प्युटीको रूपमा इतिहास समेत रचेका छन्।
'द प्राइड अफ ब्रिटेन अवार्ड्स'ले बेलायतभरका मानिसहरूको असाधारण उपलब्धि, बहादुरी र निस्वार्थतालाई मनाउँछ।
सन् १९९९ मा स्थापना भएदेखि यसले साधारण नागरिक र सार्वजनिक व्यक्तित्वहरू जसले वीरता, सामुदायिक सेवा, परोपकारी कार्य र वकालतका कार्यहरूमार्फत महत्त्वपूर्ण प्रभाव पारेका व्यक्तित्वहरुलाई सम्मानित गर्दै आएको छ।
प्रेरणादायी व्यक्तिहरूलाई सेलिब्रेटीहरू, राजनीतिज्ञहरू र सार्वजनिक व्यक्तित्वहरूलाई आकर्षित गर्ने पुरस्कार बेलायतमा सबैभन्दा प्रतिष्ठित मध्येका एक हुन्।
अवार्डले बाल/किशोर साहसी, वर्षको कोष सङ्कलनकर्ता, उत्कृष्ट बहादुरी, स्पेसियल रिकग्निसन लाइफटाइम अचिभमेन्ट जस्ता विविध विधामा पुरस्कृत गर्दै आएका छन्।
उनले गर्व महसुस गर्दै भने, 'म बेलायतको 'प्राइड अफ ब्रिटेन अवार्ड' को विशेष पुरस्कार जित्न पाउँदा सम्मानित छु। यसको अर्थ केही पनि असम्भव छैन।'
'फरक क्षमता भएका (पिओडी) भएका व्यक्तिहरूप्रतिको धारणा परिवर्तन गर्नको लागि कृपया मसँग सामेल हुनुहोस्।'
उनले अरूलाई पनि आफ्नै पहाड चढ्न र तिनीहरूको सपना जित्नको लागि प्रेरित गर्नलाई आह्वान गरेका छन्। 'हामी अपाङगता भएका व्यक्तिहरू पनि हाम्रो परिवार, साथीहरू, समुदाय, राष्ट्र र विश्वको गौरव बन्न सक्छौं।'