रास्वपाप्रति विश्वप्रकाशकाे टिप्पणी- सडकमा विलाप नगरौँ, अदालतको फैसला कुरौँ

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै महामन्त्री शर्माले केही मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न भन्दै अदालतको फैसला कुर्न आग्रह गरेl

‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौंl अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौंl सडक विलापको जगहँसाई नगरौंl’, शर्माले भनेका छन्।

उनले दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता भएकाे बताएका छन्। 

साथै महामन्त्री शर्माले रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन्।

उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारबाही गर्नू भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया सुरु भएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताएका हुन्।

‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´l तर प्रक्रिया शुरुभएपछि, `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र?’, उनले भनेका छन्, ‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति? कि विधि उपर समेतको ठगी?’

प्रकाशित मिति: : 2024-10-23 11:34:00

प्रतिकृया दिनुहोस्