प्रभु साहकाे दाबी: ओली सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने

File Photo
File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सीमित रहेको बताएका छन्।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमका बीचमा आजपा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेर असफल भएको दाबी गरेका छन्।

वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए। नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो। विकास होइन, उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो। बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो। जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो। देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो। सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ। नकारात्मक बढि छ’ आजपा अध्यक्ष साहले भने।

वर्तमान सरकारको काम विपक्षीहरुलाई तर्साउन र झुठा मुद्दा लगाउनेमा केन्द्रित भएको बताउँदै उनले गौरहत्याकाण्डका हत्याराहरु खुलेयाम घुम्दा सरकारले उनीहरुलाई संरक्षण दिएको बताए।

आफू समर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको बताउँदै उनले विपक्षमा रहेका पालिकाहरुमा ‘सरुवा आतंक मच्चाउने’ काम भएको टिप्पणी गरेका छन्।

सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरेको गरिरहेको बताए।

जनताको आवश्यकता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको बताए।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको कारणपनि मदन भण्डारीको अपमान भएको टिप्पणी उनले गरेका छन्।

एमालेको बल्खु मदन नगरमा भएको जग्गापनि अहिले किर्तीपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहको भनाई छ।

तर, बल्खुको जग्गा भएको ठाउँ नै मदननगर भएको र मदन भण्डारीसँग जोडिएको जग्गा भएकै कारणले प्रधानमन्त्री ओलीले सो जग्गामा एमालेको मुख्यालय नबनाएको साहको आरोप छ।

ओलीले मदन नगरमा पार्टी कार्यालय नबनाएर स्वर्गीय मदन भण्डारीको योगदान र लिगेसीलाई अपमान गरेको आजपा अध्यक्ष साहको आरोप छ।

प्रकाशित मिति: : 2024-10-23 13:32:00

प्रतिकृया दिनुहोस्