राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छन्।
सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताइन्।
‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानुन बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौं’, उनले भनिन्, ‘छिटोछिटो सरकारसँगै मन्त्री परिर्वतन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन, जसले गर्दा अत्यावश्यक कानुन निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ।’
संविधानअनुसार बाझिएका कानुनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभाले पटक-पटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने विश्वास व्यक्त गरिन्।
समितिमा अड्किएका विधेयकहरुलाई छिटो टुंगोमा पुर्याउनका लागि केही दिन पहिले राष्ट्रियसभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरुसँग छलफल गरेको बताउँदै प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभामा आएका विधेयकहरु छिटो टुंगोमा पुग्दै आएकाे उल्लेख गरिन्।
उनले मुलुकमा केही समयदेखि बढिरहेको अराजकताप्रति चिन्ता व्यक्त गर्दै अराजकता सिर्जना गर्ने जो भएपनि कारबाहीको दायरामा ल्याउन आवश्यक भएकाे बताइन्। तीनै तहका सरकारले आफुूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने उनकाे भनाइ छ। जनतामा बढी अपेक्षा हुने र सरकारले त्यसअनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकताबादीले भड्काउने प्रयास गर्न सक्नेतर्फ सचेत हुन आग्रह पनि गरिन्।
उनले सहकारीमा वचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरेपनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्दा धेरै बचतकर्तालाई राहत हुन सक्ने बताइन। बचतकर्ताले बचत डुब्ने डरमा नियमित बचत छाड्ने र ऋण असुली नहुने समस्याको हल खोज्न सरकारले पहल गरिरहेको बताउँदै त्यसलाई छिट्टै परिणाममुखी बनाउन आग्रह पनि गरिन्।
उपाध्यक्ष घिमिरे सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएकी छन्। भने, नवलपरासी बर्दघाट सुस्तापूर्वमा पर्ने विनयत्रिबेणी गाउँपालिकास्थित प्रसिद्ध त्रिबेणी धाम र सुस्ता जोड्ने झोलुङ्गे पुलको अवलोकन गरिन्।
सो अवसरमा स्थानियबासी र जनप्रतिनिधीले निर्माणाधिन नारायणगढ बुटवल सडकको काम छिटो सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएका थिए।