नेपाल पत्रकार महासंघकाे निर्वाचन भाेलि (मंसिर २८ गते) हुँदैछ। महासंघकाे केन्द्रीय अध्यक्षका लागि ४ जना चुनावी मैदानमा छन्।
जसमध्ये लाल सिंह (एल एस) लामा एक हुन्। जसले स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनका अन्य उम्मेदवारलाई टक्कर दिएका छन्।
उनले दलीय भागबन्डाका आधारमा गठबन्धन पत्रकारहरूलाई चिन्तित बनाएकाे भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे बताएका छन्।
उनले पत्रकारहरूलाई दासता मानसिकता त्याग गर्न पनि भनेका छन्। लामाले आफ्नाे एजेन्डाहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘पत्रकार महासंघकाे यस महाधिवेशनबाट व्यक्ति र अनुहारलाई नभइ दासता मानसिकता त्यागेर व्यवसायिक, वैज्ञानिक मुद्धा उठान गर्नेलाई मतदान गर्नु हुनेछ र मलाई विजयी बनाउनुहुनेछ।’
उनले महासंघका संस्थापक अध्यक्ष स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई ओझेलमा पार्ने काम भएको र त्यसलाई आफूले उच्च सम्मान गर्ने, महासंघलाई समयानुकुल पुन:संरचना गर्ने, सदस्यता शुद्धीकरणलाई निर्मम ढंगले लागू गर्नेलगायत एजेण्डाहरू रहेको बताएका छन्।