रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं सञ्चालक छविलाल जोशी कारागार चलान भएका छन्।
सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
इजलासले उनलाई ‘पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने’ आदेश दिएको हो। सोमबार नै अदालत उपस्थित भएका जोशीको सोहीदिन बयान र थुनछेक बहस भएको थियो।
सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै जोशीसहित उनका सहकर्मी रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
लामिछाने यसअघि नै रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। जीबी राई भने हालसम्म फरार छन्।
तत्कालिन अवस्थामा जोशी उपाध्यक्ष रहेको गोर्खा मिडियामा लामिछाने सेयर धनीसहित प्रबन्ध निर्देशक थिए।