राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार नेपाल बार एशोसियसनमा आयोजित पाँचौं ‘ल-एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’मा बोल्दै उनले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको भएको बताए।
उनले भने, ‘कानुन व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन्। कुनैपनि किसिमको यातनारहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक दासतायुक्त जीवन रंगभेद लिङ्गभ्दको विरोध, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मानवलाई नहुने अधिकार हुन्। र लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको हो।’
त्यस्तै उनले आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको उनको भनाई छ।
उनले भने, ‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो र मौलिक अधिकारहरु यसको जीवनरेखा हुन्। यी असधकारहरूले व्यक्तिलाई मर्यादित, स्वतन्त्रता, र समानताका साथ बाच्न सक्ने कुरा सुनिश्चित गर्छ। आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले हामीलाई विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको छ।’