केही दिनदेखि ‘दरबार’ मार्ग ‘राजा माग्ने’ थलो बन्न थालेको छ। नारायणहिटी दरबार (हाल संग्रालय)को मुख्यद्वारअघिको यो ऐतिहासिक सडकमा अचेल दिनहुँ ‘राजा’ माग्नेहरूको आन्दोलन हुन्छ।
शुक्रबार पनि एउटा समूहले यही ‘दरबार’ अघि ‘जनताको नासो फिर्ता चाहियो’ भन्दै आन्दोलन गरे।
वैदिक हिन्दु सनातन राज्य कायम गर्न पनि उनीहरूले माग गरे। हिन्दुवादी तथा राजतन्त्र पक्षधरहरूले यसरी दिनदिनै आन्दोलन गर्न थालेपछि राजनीतिक दलका नेताहरू तथा सरकार भने पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थकहरूको गतिविधि नियन्त्रणका उपायबारे छलफल गरिरहेका छन्।
संसदभित्रमात्रै होइन सडकमा समेत राजतन्त्र र गणतन्त्रका पक्षमा चर्का बहसहरू हुन थालेका छन्। राजनीतिक दलका नेताहरूले भने ‘राजा फर्किन्नन्’ भन्ने तर्कहरू गरिरहेका छन्। कतिले ज्ञानेन्द्रलाई गाली गरिरहेका छन्।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि त्यही दरबारमार्गमा प्रदर्शन गरेको थियो। उसले नेपालगन्ज, धनगढी, बुटवलजस्ता प्रमुख सहरहरूमा पनि मोटरसाइकल र्याली गर्दै राजसंस्थाको माग गरिरहेको छ। शुक्रबार राजावादीहरूले जनकपुरमा पनि प्रदर्शन गरेका छन्।
यतिबेला पूर्वराजा ज्ञानेन्द्र भने तीर्थाटनमा छन्। उनी हाल पश्चिम नेपालका विभिन्न जिल्ला धार्मिकस्थलमा दर्शन गर्दै हिँडिरहेका छन्।
शुक्रबार नारायणहिटीअघि राजसंस्था पक्षधरहरूले ‘जनताको नासो फिर्ता’ माग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भने ज्ञानेन्द्र शाहलाई २०८४को निर्वाचनमा ‘स्वागत छ’ भनेका छन्।
ओलीले शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गरेका थिए। र त्यही क्रममा उनले अहिले गणतन्त्र उल्ट्याउन खोजेर ‘कस्तो शासन ल्याउन खोजेको?’ भनेर प्रश्न पनि गरे।
यसअघि ओलीले राजावादीहरूको आन्दोलनलाई खिसीट्यूरी गर्दै ‘खुट्टी देखेरै पत्याइयो’ भनेर टिप्पणी गरेका थिए। शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले ज्ञानेन्द्रलाई २०८४ मा चुनाव लडेर आउन पनि चुनौती दिए।
‘अहिले यति बलियो दुई तिहाइको सरकार छ। यस्तो बेलामा पनि केही मान्छे सडकमा चिच्याइरहेको सुन्छु। यो गणतन्त्र मासेर कस्तो शासन ल्याउन खोजेको हो?’ _ओलीले भने ‘यो बहुमत मान्दैन। जनताको मत मान्दैन भन्ने हो भने, त्यस्तो लोकप्रिय छु भन्ने लाग्छ भने चुनावमा आए भैगो त। ८४ को चुनाव आउँदैछ। त्यसमै हामीले पनि स्वागत गरौंला…।’