एसईई परीक्षामा ‘चिट चोर्न’ प्रयोग भएका ४२४ थान मोबाइल बरामद

Break n Links
Break n Links

रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४२४ थान मोबाइल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ।

परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षाका क्रममा परीक्षाहलमा लगिएको मोबाइल बरामद गरिएको समितिले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए। चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो।

परीक्षामा अमर्यादित क्रियाकलाप र  परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा यमुनामाइ मावि झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र लक्ष्मीनिया मावि मौलापुरबाट एक गरी दुई जनालाई पक्राउ पनि गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।

उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरू बाट केही रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो।

मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-03-20 18:45:00

प्रतिकृया दिनुहोस्