अमेरिकाका एकजना उच्च सैन्य अधिकारीले केही अफ्रिकी आतंकवादी समूहहरूले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन्। केही गोप्य सूचनाहरूका आधारमा उनले ती आतंकवादी समूहहरू समयको पर्खाईमा भएको र उपयुक्त मौका छोपेर अमेरिकामाथि भीषण आक्रमणको तयारी गरिरहेको भन्दै चेतावनी दिएका हुन्।
अमेरिकी-अफ्रिकी सैन्य कमाण्डका प्रमुख जेनरल माइकल लाङ्लीले अफ्रीकी देशहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै गइरहेको अल-शवाब समूह र अल-कायदाका अरु पनि समूहहरू मिलेर अमेरिकामाथि आक्रमण गर्नसक्ने बताएका हुन्।
सन् २००१ सेप्टेम्बर ११ का दिन अल-कायदा समूहले नै अमेरिकाको ट्वीनटावर (विश्व ब्यापार केन्द्र)माथि आक्रमण गरेको थियो। दुईवटा बिमान अपहरण गरेर आत्मघाती उक्त समूहले ती बिमानहरूलाई त्यही टावरमा ठोक्काइदिएको थियो। त्यस्तै अर्को आक्रमण पेन्टागनमा पनि भएको थियो। यी श्रृङ्खलावद्ध आतंकवादी आक्रमणमा कम्तीमा ३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो।
त्यसपछि नै अमेरिकाले ‘आतंकवादको अन्त्य’ भन्दै विश्वका विभिन्न देशमा आफ्ना सैनिकहरू तैनाथ गरेको थियो। त्यसको दश वर्षपछि अल कायदाका प्रमुख ओसामाविन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको एवटावादमा मारिदिएका थिए।
र, पनि खासगरी अहिले अफ्रिकी देशहरूलगायत अन्य देशहरूमा पनि अल-कायदनलाई विभिन्न समूह बनाएर आतंकवादी गतिविधि चलाइरहेको छ।
अमेरिकी अफ्रिकी सैन्य कमाण्ड प्रमुख लाङ्लीले अफ्रिकाका अधिकांश भूभागहरूमा अहिले आतंकवादी समूहहरूले आफ्नो गतिविधि र क्षेत्र विस्तार गर्दै गइरहेको भन्दै त्यसबाट अमेरिकाको सुरक्षामा खतरा उत्पन्न भएको बताएका छन्। पछिल्ला तीन वर्षमा यी आतंकवादी संगठनहरूले आफ्नो आकार बढाउँदै लगेका छन्।
लाङ्लीले उनीहरूको उद्देश्यबारे प्रस्ट पार्दै भनेका छन् ‘उनीहरू पश्चिम अफ्रिकाको विशाल समुद्री तटसम्म पुगेर नयाँ आयस्रोतहरूको खोजी र अमेरिकालगायत विश्वभर नै आतंक फैलाउने रणनीति लिएर अघि बढेका छन्।’
आफूहरूले ती आतंकवादी गतिविधिहरूलाई नजिकैबाट शूक्ष्मरुपले नियालीरहेको बताउँदै पत्रकारहरूसँग लाङ्लीले भनेका छन् ‘उनीहरूले अमेरिकामाथि नै आक्रमण गर्नेगरी क्षमता विकास गरिरहेका छन्।’
चीन र रुसले प्रभाव जमाउन खोजिरहेको अफ्रिकाका कतिपय राष्ट्रहरूसँग अमेरिकाको सम्बन्ध पनि चिसिएको छ। अमेरिकी गुप्तचरहरूले केही समयअघि धेरै अफ्रिकी सैनिकहरूलाई चीनले तालिम दिइरहेको भन्दै सचेत पारेका थिए। चीनले भने त्यसलाई नियमित सैन्य गतिविधि भन्दै संयुक्त अभ्यास भनेको थियो। तर पछिल्ला दिनहरूमा चीनले अफ्रिकी देशमा लगानीसँगै सैन्य सहायता पनि बढाउँदै लगेको छ।