राजावादीको आन्दोलनका क्रममा कलम थापालाई प्रहरीले गिरफ्तार गरेको छ। जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
प्रहरीले रोकेपछि केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल परेको थियो। त्यसक्रममा प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्न खोजेपछि थापासहित केहीलाई प्रहरीले भ्यानमा हालेको हो।
थापालगायत थुप्रै प्रदर्शनकारीलाई प्रहरीले घिसार्दै भ्यानमा हालेको थियो। सरकारबिरुद्ध नाराबाजी गरिरहेका थापालाई प्रहरीले लछारपछार गर्दै भ्यानमा हालेर लगेपछि राजावादी थप उग्र भएका छन्।
यसैबीच आन्दोलनकै क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार दमनमा उत्रिएको भन्दै आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन्। लिङ्देनले थापालाई आन्दोलनकै बीचमा ल्याएर नछोडे राजधानी बन्द गर्नेसम्मको चेतावनी पनि दिएका छन्।
जेठ १५ शान्ति बाटिकामा प्रदर्शन गरेपछि राजावादीहरूले त्यसलाई निरन्तरता दिँदै आएका छन्। उनीहरूले राजसंस्था पुनस्थापना नभएसम्म घर नफर्किने बताएका छन्।
राजावादीहरूलाई दरबारमार्गमा प्रदर्शन गर्न नदिएपछि शनिबारदेखि उनीहरूले बालुवाटार घेर्दै आएका छन्।