अमेरिका-चीन : दुई शक्ति राष्ट्र अब सम्झौताको बाटोमा

लामो विवाद अनि अनेक आरोप प्रत्यारोपका बीच अमेरिका र चीन अब सम्झौताको बाटोमा अघि बढेका छन्। संसारकै दुई ठूलो अर्थतन्त्र भएका यी शक्ति राष्ट्रबीच चुलिएको ब्यापार टकरावका कारण पूरै विश्वबजार तरंगित भएको थियो। 

अब दुबै देश ब्यापार सम्झौतालाई थप सहज बनाउनका लागि वार्तामा बस्न तयार भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यही जुन ९ मा दुबै देशका प्रतिनिधिहरू लण्डनमा बसेर आगामी ब्यापारको बाटो तय गर्नेछन्। 
‘अमेरिकी वित्तमन्त्री स्कट बसेन्ट, वाणिज्य मन्त्री हार्वर्ड लुटनिक तथा ब्यापार प्रतिनिधिहरू आगामी सोमबार लण्डनमा हुनेछन् र त्यहाँ चिनियाँ प्रतिनिधिसँग भेट गर्नेछन्’ ट्रम्पले भनेका छन् ‘यो बैठक दुई देशबीच ब्यापार सम्झौताका लागि निकै फलदायी हुनेछ। र यो जानकारी दिँदै गर्दा मलाई खुसी लागिरहेको छ।’ 

यसअघि शुक्रबारमात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच टेलिफोन वार्ता भएको थियो। यो फोनकलका लागि ट्रम्प आफूले निकै लामो समय प्रतीक्षा गरेको बताएका थिए। 

दुई राष्ट्रपतिबीच दुईपक्षीय ब्यापार तथा आपसी हितका बारेमा कुराकानी भएको थियो। टेलिफोन वार्तापछि ट्रम्पले आफू चाँडै नै चीन भ्रमणका लागि इच्छुक रहेको बताएका थिए। त्यो वार्तामा उनले चिनियाँ राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो पनि दिएका छन्। 

गत महिनामात्रै दुबै देशका प्रतिनिधिहरूबीच जेनेभामा बैठक भएको थियो। उक्त बैठकमा दुबै राष्ट्र एकअर्कामाथि लगाइएको भन्सार कर कटौती गर्न सहमत भएका थिए। 

ट्रम्पले चीनमाथि कर थप्दै थप्दै १४५ प्रतिशतसम्म पुर्‍याएका थिए। चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशतसम्म कर घोषणा गरेको थियो। तर जेनेभा बैठकबाट अमेरिकाले चिनियाँ वस्तुमाथि ३० प्रतिशतमात्रै कर लिने र चीनले पनि अमेरिकी सामग्रीमा १० प्रतिशतमात्रै कर लिने सहमति भयो। अब लण्डन वार्ताले यसको स्थायी समाधानको बाटो पहिल्याउने विश्वास ट्रम्पको छ। 

प्रकाशित मिति: : 2025-06-07 08:41:00

प्रतिकृया दिनुहोस्