अनावश्यक रूपमा जनसवाल दैनिकको बदनाम गर्न खोजियो– सम्पादक बगाले

जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफूमाथि लागेकाे आरोपको स्पष्टीकरण दिएका छन्।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले फेक विज्ञापन गरेकाे भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेपछि आफू र आफ्ना कर्मचारीबाट त्यस्ताे काम नै नभएकाे  उनले बताएका हुन्।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिल नेपालमा बुझाउने हार्ड कपी पत्रिका र  पिडिएफ फाइलमा उक्त विज्ञापन नभएकाे, साे विज्ञापन कहिल्यै नछापिएकाे र हाल स्थानीय तहकाे काराेबार बैंकिङ प्रक्रियाबाट हुने गरेकाे स्मरण गर्दै उनले कुनैपनि प्रकियाबाट रकम पनि आफ्नो कम्पनीमा नआएकाे दाबी गरे।

'जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ। किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपी रहने गरेको छ। उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन, 'अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ।'

उनले जनसवालले उक्त नगरपालिकाबाट कुनै पनि रकम नलिएकाे जनाएका छन। 

'फतुवा विजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु। जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु', उनले भनेका छन्, 'अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ। नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक छानबिनसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ। यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु।'

उनले अगाडी प्रेस विज्ञप्तिमा भनेका छन्, 'हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ। आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु।'

प्रकाशित मिति: : 2025-06-11 19:02:00

प्रतिकृया दिनुहोस्