सरकारको सफलता कर्मचारीतन्त्रमा निर्भर छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए।

उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो। कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ। तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्वपूर्ण आवश्यकता हो। यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो।’

यस्तै, उनले अहिले थुप्रै निकायहरूमाथि जनविश्वास कम हुँदै गएको अवस्थामा पनि लोक सेवा आयोगमाथिको जनविश्वास अझै प्रबल रहेको भन्दै राज्य सञ्चालनमा आयोगको कार्यक्षेत्र, भूमिका र दायित्व निकै महत्वपूर्ण रहेको बताए।

उनले आयोगमा लामो समयसम्म कार्यरत रहेर सम्मानित भएका पूर्व कर्मचारी, उत्कृष्ट कार्यकारी पुरस्कृत कर्मचारीहरूलाई बधाई पनि दिएका छन्।

प्रकाशित मिति: : 2025-06-15 14:28:00

प्रतिकृया दिनुहोस्