‘सुसाइड नोट’ लेखेर हिँडेका डाक्टर रिसोर्टमा, मेयर थापालाई ५० लाख धरौटी (भिडियाे समाचार)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन्। 

बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयन योग्य हुनुपर्नेमा आफू होसियार रहेकाे बताउँदै आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उनकाे भनाइ थियाे। 

भिडियो-

000

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापालाई धरौटीमा छाड्न सर्लाही अदालतले आदेश दिएको छ।

अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको तथा वन ऐनको उल्लंघन गरेको मुद्दामा न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले थापालाई ५० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे। 

उनीविरुद्ध ४७ लाख घनमिटर भन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ ४५ पैसाको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो।

000

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनदेखि इजरायल र इरानबीच जारी युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा. राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।

त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन्। 

000

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो।

विद्युतीय कारोबार साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो।

आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए।

000

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ।

जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । 

000

नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ।

बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पनि छाप रहेको छ।

नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।  

000

सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर काठमाडौंमा प्रदर्शन गरेका छन्।

सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ। 

सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ। याे करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूकाे गुनासाे छ। 

000

शुक्रबारदेखि जारी इजरायल-इरान युद्धमा इरानलाई ठूलो क्षति भएको छ।

इजरायलले गरेको सैन्य कारबाहीमा तेहरानको आवासीय क्षेत्रमा ठूलो मात्रामा क्षति भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायली आक्रमणमा इरानको परराष्ट्र मन्त्रालयको भवनमा समेत क्षति पुगेकाे छ। 

इजरायलले गरेकाे आक्रमणका कारण इरानमा हालसम्म कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको र १४ सयभन्दा धेरै जना घाइते रहेकाे अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएकाे छ। 

प्रकाशित मिति: : 2025-06-16 21:52:00

प्रतिकृया दिनुहोस्