धरौटीमा छुटे मिश्र , न्याय खोज्दै उच्च अदालत पुगे नगरप्रहरी प्रमुख राजु पाण्डे (भिडियाे समाचार)

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। 

मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्रविरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो। 

यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए।

भिडियो-

000

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ।

उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन्।

दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको थियाे। 

सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।

000

रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ। 

बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह पिन्टुका बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्‌मा उजुरी दिएका हुन्। 

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन्। 
 
रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्म कैदको फैसला सुनाएको थियो।  

000

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।

उच्च अदालतका न्यायाधीशहरू ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले मंगलबार उनको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो।

युनुस अन्सारीले केन्द्रीय अनुसन्धान ब्युरो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा समेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड सरसठ्ठी लाख चाेरानब्बे हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए।

000

सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन्।

भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोली सहभागी थियो।

000

निलम्बित काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। 

पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको छ। 

000

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो।

 एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ सरसठ्ठी हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय तिरासी विद्यार्थी थिए।

प्रकाशित मिति: : 2025-06-17 21:25:00

प्रतिकृया दिनुहोस्