उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह अर्को निर्वाचनबाट संसदमा नआउन् भन्दै बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना
सत्तारुढ कांग्रेसकै सांसद पूर्णबहादुर तामाङले संसदको रोस्ट्रमबाटै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भन्दै प्रार्थना गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रीत गरेको भन्दै कान्छारामले चर्को विरोध जनाएका हुन्।
‘०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गर्छु,’ उनले रोस्ट्रमबाटै प्रार्थना गर्दै दुवै उपप्रधानमन्त्रीलाई प्रश्न सोधे, ‘३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले? आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन्। रुपन्देहीमा ७९ वटा हाल्ने? यसरी चल्छ?’
विनियोजनमा चित्त नबुझाएका अन्य सांसदले बजेट पुस्तिका नै च्याते पनि आफूले भने दुई उपप्रधानमन्त्रीलाई आगामी संसदमा नआउन् भनेर प्रार्थना गर्ने तामाङले बताए।
कान्छारामले उपप्रधानमन्त्री सिंहविरुद्ध पार्टीकै बैठकमा कुरा उठाउने तयारी गरेपनि बैठक नबसेको कारण पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने चेतावनी दिए।
उनले भने, ‘यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ। कांग्रेस डुबिसक्यो।’