१२ दिने इजरायल-इरान युद्ध : अमेरिकी सैन्य क्याम्पमाथि आक्रमणसम्म
सोमबार राति इरानका लडाकु बिमानहरूले कतारमा रहेको अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइलहरू खसाल्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना सुरक्षा प्रमुखहरूको घेराबीच ‘सिचुएसन रुम’मा थिए।
यद्यपि इरानले त्यहाँ आक्रमण गर्नुअघि ह्वाइट हाउसलाई जानकारी गराएको थियो। त्यसका लागि ट्रम्पले इरानलाई ‘धन्यवाद’ पनि भनेका छन्। इरानले मिसाइल खसाउनुअघि कतारको राजधानी दोहा नजिकै रहेको अल उदैद अमेरिकी वायु सैनिक बेस क्याम्प लगभग खाली गराइएको थियो। त्यहाँका युद्धपोत बिमानहरूलगायत सबै सामग्रीहरू अन्यत्रै सारिएको थियो।
कतारले इरानको यो आक्रमणको निन्दा गरेको छ। कतारसँगै इरानले इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा पनि मिसाइल हानेको छ। यो आक्रमणसँगै सोमबार रातिदेखि खाडी राष्ट्रहरू सबै तैनाथी अवस्थामा छन्। सबैजसो राष्ट्रहरूले खतराको साइरन बजाएका थिए। यद्यपि कतारले इरानबाट प्रहार भएका सबै मिसाइलहरू आकाशमै नष्ट गरिएको र कुनै क्षति नभएको दाबी गरेको छ। दोहाका सडकहरूमा इरानी मिसाइलका अवशेषहरू खसेका देखिन्छन्।
करिब ८ हजार अमेरिकी सैनिक रहेको यो बेस क्याम्प मध्यपूर्वमा अमेरिकी सेन्ट्रल कमाण्डको मुख्यालय हो। यहिँबाट त्यस क्षेत्रमा अमेरिकी सेनाले आफ्नो अपरेशन चलाउँछ। यो क्याम्पमा खाडी क्षेत्रकै सबैभन्दा लामो एयर ल्यान्डिङ स्ट्रीप पनि छ। कहिलेकाहिँ यूकेले पनि यो क्याम्प प्रयोग गर्छ। सन् २००० देखि कतारले अमेरिकालाई यो बेस क्याम्पमा स्वामित्व दिएको थियो। खासगरी इराकमा आफ्नो सैन्य अभियान चलाउनका लागि अमेरिकाले यो क्याम्प प्रयोग गर्दै आएको थियो।
खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।
दुई दिनअघि अमेरिकाले इरानमा रहेका तीनवटा मुख्य आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पारिदिएको दाबी गरेको थियो। त्यसमध्ये इरानको फोर्दो पहाडमुनि रहेको आणविक प्रशोधन केन्द्र सबैभन्दा महत्वपूर्ण टार्गेट थियो। जमिनमुनि रहेको यो आणविक केन्द्रमा हान्नसक्ने बम भने अमेरिकासँगमात्रै छ। त्यो सँगै अरु दुई वटा इरानी परमाणु केन्द्रमा पनि अमेरिकाले आक्रमण गर्यो।
त्यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिकका बेस क्याम्पहरूमा आक्रमण गरेको हो। इरानको यो आक्रमण लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राति नै ‘इजरायल इरानबीच युद्धबिराम’ भएको भन्दै सबैलाई बधाई दिए। तर कैयौं घण्टासम्म इजरायल र इरान दुबैले त्यसलाई पुष्टि गरेनन्। त्यो बेलासम्म इरान र इजरायल दुबैले एकअर्को भूमिमाथि मिसाइल खसालिरहेका थिए।
त्यसपछि ट्रम्पले फेरि एक अर्को सन्देश दिए- इजरायल र इरान दुबै आफूकहाँ आएपछि युद्ध बिराम भएको उनले खुलासा गरे।
‘इजरायल र इरान दुबै लगभग एकैसाथ मकहाँ आएर शान्तिका लागि अपिल गरे। मलाई थाहा थियो कि अब शान्तिको समय आइसकेको छ। दुनियाँ अनि मध्यपूर्व नै असली बिजेता हुन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ‘दुबै देशले भविष्यमा प्रेम, सद्भाव, शान्ति र समृद्धि देख्न पाउनेछन्। उनीहरूलाई अझ धेरै कुराहरू हासिल गर्नुछ। तर उनीहरू यो सत्यको बाटोबाट भड्किन खोजे भने उनीहरूले त्यो भन्दा पनि अझ धेरै गुमाउनुपर्ने हुन्छ।’
यद्यपि ट्रम्पको यो भाषालाई भने इरानले अस्वीकार गरेको छ र अमेरिकी बेसक्याम्पहरूमा आक्रमण गरेपछि ट्रम्पले इरानसँग ‘बिन्ती’ गरेको उल्लेख गरेको छ। इरान सरकारको एउटा बक्तब्य सार्वजनिक गर्दै इरानको सरकारी टेलिभिजनले अमेरिकी सैन्य बेस क्याम्पहरूमाथि आक्रमण सफल भएको दाबी पनि गरेको छ।
‘यो आक्रमणपछि ट्रम्पले अपिल गरेपछि युद्धबिरामका लागि इरान तयार भयो’ उक्त सन्देशमा भनिएको छ।
इजरायलले इरानमाथि आक्रमण गरेको लगभग १२ दिनपछि यो युद्ध पूर्णरुपमा थामिएको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन्। यद्यपि यसका शर्त र सम्झौताहरूका बारेमा अहिलेसम्म प्रस्ट छैन। दोस्रो कार्यकाल सुरु भएयता युद्धमा होमिएको ट्रम्पका लागि यो पहिलोपटक थियो। यद्यपि चुनावी अभियानका बेलामा पनि उनले आफू शान्तिवादी मान्छे भएको भन्दै आफू राष्ट्र भए सबै युद्धहरू रोकिदिने वाचा गरेका थिए।