साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

तस्बिरः बिएल

काठमाडौं। साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

उनी २२ सदस्यीय आफ्नो जम्बो टोलीसहित शनिबार साँझ ५ बजे स्वीट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानमार्फत नेपाल आएका हुन्। उनी जेठ २५ गते स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा निस्केका थिए।

प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा गएका थिए। दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए।

तीन दिन बेलायत बसेका ओली अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहका अतिथि बने। उनले त्यहाँ राजकुमार ह्यारी, कामचलाउ प्रधानमन्त्री टेरिजा मे र प्रतिपक्षी लेबर नेता जेरेमी कोर्विन सँग भेटघाट गरेका थिए। उनले त्यहाँ नेपाली डायस्पोराका विभिन्न संघ संस्थाका प्रतिनिधिलाई पनि भेटेका थिए। बीबीसीको स्टुडियो पुगेर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता पनि दिएका थिए।

 बेलायतबाट रेल चढेर फ्रान्स पुगेका उनले त्यहाँ आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। फ्रान्सको सलोनी क्षेत्रमा घुम्न गएको बेला झण्डै एक घण्टा केबुलकारमा अड्केका प्रधानमन्त्री यो समाचार फ्रान्सका स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री ओलीको यो भ्रमणको प्रोटोकल र बिना तयारी गरिएको भनेर आलोचना पनि भएको थियो।

प्रकाशित मिति: : 2019-06-16 10:32:54

प्रतिकृया दिनुहोस्