सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूतले गरे इन्डोप्यासिफिकबारे ट्विट

फाइल तस्बिर

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिकबारे अमेरिकी धारणा ट्विट मार्फत सार्वजनिक गरेका छन् । राजदूत बेरीले शुक्रबार दुई मिनेट लामो भिडियोमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

‘इन्डो–प्यासिफिक आवद्ध हुनुपर्ने कुनै क्लब होइन, यसमा सही गर्नुपर्ने कागजात छैन र यो कुनै सम्झौता पनि होइन’ बेरीले भिडियोमा भनेका छन्, ‘यसमा नेपालले सहमति जनाउनु पर्ने वा सामेल हुनुपर्ने केही छैन ।’

बेरीले भनेका छन्, ‘यो कसैलाई बहिस्कार गर्न बनाइएको नीति होइन, एसिया प्रशान्त क्षेत्रको विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहन्छ भन्ने सुनिश्चितता गर्न हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।’

के हो अमेरिकी इन्डो-प्यासिफिक रणनीति?
सुरुमा एसिया प्यासिफिकको रुपमा चिनिँदै आएको यस क्षेत्रलाई सन् २०१७ बाट इण्डो प्यासिफिकको रुपमा चिनिँदै आएको छ।

सन् २०१७ को नोभेम्बरमा भियतनाममा आयोजित दक्षिणपूर्वी देशका कार्यकारी प्रमुखहरुको सम्मलेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो–प्यासिफिक अवधारणा र दृष्टिकोण अघि सारेका थिए। पछि उनले यो दृष्टिकोणलाई अमेरिकी सुरक्षा रणनीतिको अंगको रुपमा कायम गरे।

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिले अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्म अर्थतन्त्र, प्रशासन र सुरक्षालाई समेट्छ। अमेरिकाको काउन्सिल अन फरेन रिलेसन्सका अनुसार इण्डो–प्यासिफिक रणनीतिले भारतलाई केन्द्रबिन्दुमा राख्छ। एसिया क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई रोक्न भारतलाई अगाडि सार्दै अमेरिकाले आफ्नो रणनीतिलाई बिस्तार गरिरहेको छ। यही अनुरुप अमेरिकाले एसिया प्रशान्त क्षेत्रका चीनको प्रभावमा रहेका मुलुकहरु आफ्नो उपस्थिति बढाउँदै गएको छ।

के हो इन्डो-प्यासिफिक कमाण्ड?
अमेरिकी सेनाको युनिफाइड कम्ब्याटेन्ट कमाण्ड हो इन्डो प्यासिफिक कमाण्ड। यो इन्डो प्यासिफिक क्षेत्रप्रति उत्तरदायी छ। यो अमेरिकी सेनाको पूरानो र ठूलो युनिफाइड कमाण्ड हो। सन् १९४७ जनवरी १ मा निर्माण भएको यो कमाण्ड सुरुमा युसएस प्यासिफिक कमाण्डको रुपमा चिनिन्थ्यो। सन् २०१८ मे ३० मा यसको नाम युएस इन्डो प्यासिफिक कमाण्ड राखियो।

यो कमाण्डको कमाण्डरले एसिया प्रशान्त क्षेत्रको २६ करोड वर्ग किलोमिटर क्षेत्रफलमा सैन्य अपरेसन चलाउने अधिकारी र उत्तरदायित्व राख्छ, जुन पूरै पृथ्वीको करिब ५२ प्रतिशत क्षेत्र हो। यसले अमेरिकाको पश्चिमी सामुद्रिक तटदेखि भारतीय सामुद्रिक तट हुँदै पूरा आर्टिक र अन्टार्टिक क्षेत्र घेर्छ। यसको सोझै रक्षामन्त्रीमार्फत् अमेरिकी राष्ट्रपतिसमक्ष रिपोर्ट गर्छ।

यो कमाण्ड ३६ वटा देशमा फैलिएको छ। यो कमाण्डमा अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक, मरिन फोर्स प्यासिफिक, युस प्यासिफिक फ्लिट, प्यासिफिक एयर फोर्स, युएस फोर्स जापान, युएस फोर्स कोरिया, स्पेसल अपरेसन कमाण्ड कोरिया र स्पेसल अपरेसन कमाण्ड प्यासिफिक सम्मिलित छन्।

यसको मुख्यालय हवाईमा रहेको छ। हवाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य हो जुन उत्तर अमेरिकाबाट बाहिर छ।

 

प्रकाशित मिति: : 2019-10-12 13:22:09

प्रतिकृया दिनुहोस्