अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणमा सुरक्षा व्यवस्था कडा

Agency

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरिया भ्रमणलाई सफल बनाउन अमेरिकी तथा कोरियाली कुटनीतिज्ञहरूको दौडधुप तीब्र भएको छ।

राष्ट्रपति ट्रम्प जापानमा आयोजना भइरहेको जी–२० को बैठकका लागि राजधानी टोकियोमा छन्। उनी शनिबार जी–२० को बैठक सम्पन्न गरेर त्यही दिन बेलुका दक्षिण कोरियाको राजधानी सिओल आउँदैछन्।

ट्रम्पले जुन २९ र ३० कोरियामा बिताउँने छन्। उनको आइतबार कोरियाली राष्ट्रपति मुन जे इनसँग भेट हुने बताइएको छ। दुई राष्ट्रपतिबीचको भेटमा उत्तर कोरियासँगको आणविक समस्या समाधानका सम्भावित सम्भावनाहरूको बारेमा छलफल हुने जनाइएको छ।

केही साताअघि मात्र उत्तर कोरिया र अमेरिकी राष्ट्रपतिबीच गोप्य चिट्ठी आदान प्रदान भएको थियो। जसका कारण यसपटकको ट्रम्पको भ्रमणमा केही सकारात्मक समाधानका उपायहरूमा ठोस निर्णय आउनसक्ने अपेक्षा धेरैले गरेका छन्।

गत फेब्रुअरीमा भियतनाममा भएको वार्तामा अमेरिकाले उत्तर कोरियासँग अआणविक भट्टी पूर्ण रुपमा नस्ट गर्न उत्तर कोरियालाई दबाव दिएको थियो। उत्तरले अमेरिकी प्रस्ताव स्विकार गरे अमेरिकाले लामो समयदेखि लगाउँदै आएको नाकाबन्दी फुकुवा गर्ने जनाउ दिएको थियो।

स्थानीय यन्हाप न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै दक्षिण कोरियाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। यन्हापले लेखेको छ, ‘राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गरी राजधानी सिओललगायत देशका प्रमुख भागहरूमा जुन २९–३० तारिख २ दिनसम्म ‘स्टेट अफ इमर्जेन्सी’ घोषणा गरी सुरक्षा व्यवस्था कडा गरिने भएको छ ।’

प्रकाशित मिति: : 2019-06-28 11:12:32

प्रतिकृया दिनुहोस्