अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति अमेरिकाको ठूलो मिडिया त्यति सहिष्णु नभएको सबैलाई थाहा भएकै विषय हो। अमेरिकाको पछिल्लो निर्वाचनमा ट्रम्पलाई विजयी गराउन मस्कोले मुख्य भूमिका खेलेको भन्दै उनको आलोचना दिनहुँ जस्तो हुने गरेको छ।
जापानमा आयोजना भइरहेको जी–२० को बैठक पूर्व अमेरिकी मिडियाले राष्ट्रपति ट्रम्पलाई होच्याउन कुनै कसर बाँकी राखेका थिएनन्। उनीहरूले बैठक पूर्व रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने कि नहुने? भनेर प्रश्न पनि उठाएका थिए।
यसै सिलसिलामा शुक्रबारदेखि जापानमा सुरु भएको जी–२० को बैठकमा एउटा रोचक दृश्य देखियो। बैठकमा अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच भेटवार्ता भयो। केही समय एकअर्कासँग भलाकुसारी गरेर बाहिर निस्किएका दुवै राष्ट्रपतिका अगाडि एक जना मिडियाकर्मीले प्रश्न गरे– ‘अमेरिकी निर्वाचनमा हस्तक्षेप भएको हो कि होइन?’
माहोललाई सहज बनाउन ट्रम्पले रुसी राष्ट्रपतितर्फ हेर्दै ठट्टा गरे– ‘अमेरिकाको चुनावमा हस्तक्षेप नगर्नु होला।’
ट्रम्पले आफ्नो सम्बन्ध पुटिनसँग राम्रो रहेको र यसले सकारात्मक नतिजा निस्किने मिडियासामू बताए। उनले भने, ‘हामीसँग चर्चा गर्नका लागि थुप्रै मुद्धा छन्। यसमा व्यापार र सुरक्षासँग जोडिएको विषय छ। उनीसँग राम्रो कुराकानी भएको छ।’
उनले पुटिनसँग भएको वार्ताको विषयमा पत्रकारहरूले धेरै चासो राखिरहनु नपर्ने पनि बताए।
ट्रम्पको विजयमा मस्कोले सघाएको भन्दै ‘डेमोक्र्याट’ सांसदहरूले यसको विरोध गर्दै आइरहेका छन्। सिनियर काउन्सलर रोबर्ट मुलरले यस विषयमा ४ सय ४८ पेजको रिपोर्ट नै तयार गर्न भ्याएका थिए।