सरकारी खर्चमा मेयर, उपमेयर र कर्मचारीको थाइल्याण्डमा मस्ती

सोमबार बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको सहभागीता थियो।

विदेशी पाहुनाहरू गौतम बुद्धको जन्मस्थलमा बुद्ध जयन्ती समारोह मनाउँन रातारात लुम्बिनी आइपुगे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन भइरहँदा कार्यक्रममा उपस्थित हुनुपर्ने बुद्ध परिपथकै स्थानीय जनप्रतिनिधि भने थाइल्याण्ड भ्रमणमा पुगेका छन्।

उनीहरू थाइ सरकारको निमन्त्रणामा त्यहाँ गएको बताइएको छ। भ्रमण टोलीमा मेयर, उपमेयर, कर्मचारी र उनीहरूका आसेपासेहरू सहभागी रहेको बताइएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ र नवलपरासीको रामग्रामकी उपमेयर सम्झना चौधरी थाइल्याण्ड पुगेका छन्।

थाइल्याण्ड सरकारले निमन्त्रणा गरे पनि सबै खर्च सम्बन्धित पालिकाहरूले नै ब्यहोरेको बताइएको छ। स्रोतका अनुसार उनीहरू सरकारी खर्चमा थाइल्याण्ड भ्रमणमा गएका हुन्। 

यस विषयमा जान्न खोज्दा सिद्धार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने उनीहरू थाइल्याण्डको बुद्ध सर्किट सम्बन्धि कार्यक्रममा आयोजककै प्रायोजनमा त्यहाँ पुगेका दाबी गरेका छन्।

उनले भने, ‘बुद्ध सर्किटको बुद्धसम्बन्धि एउटा कार्यक्रम रहेछ। त्यही कार्यक्रममा हाम्रो पालिकाबाट मेयर साब र उपमेयर साबहरू जानुभएको छ। अरू पालिकाबाट पनि जानुभएको छ। खर्च उतैबाट हो। हाम्रोबाट अहिलेसम्म खर्च भएको छैन।’

सिद्धार्थनगरमा मेयर कांग्रेस, उपमेयर एमालेबाट निर्वाचित भएका हुन्।

तर, थाइल्याण्डका कार्यक्रममा सक्रिय सहभागीता नेदेखिएका उनीहरू थाइल्याण्डका सहर घुमघाम, कार्यक्रममा सहभागी भएर सेल्फी खिच्ने, फोटो खिचाउने मै सीमित रहेको भन्दै यताका पालिकाका प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।

आफ्ना प्रतिनिधिहरू त्यहाँ कार्यक्रममा कम तर मसाज, मदिरालय र फिजियोथेरापीमा बढी व्यस्त देखिएका उनीहरूको आरोप छ। 

व्यक्तिगत मनोरञ्जनमा व्यस्त उनीहरूको भ्रमणको उपलब्धि शून्य रहेको र आफ्नो पालिकालाई कुनै प्रत्यक्ष लाभ नखेदिएको भन्दै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन्।

तिलोत्तमा नगरपालिकाका एक जनप्रतिनिधिले उनीहरू आयोजकको प्रायोजनमा नभइ सरकारी खर्चमा गएको दाबी गरेका छन्। उनले त्यहाँ उनीहरू कार्यक्रमको नाममा घुम्न र गर्मी छल्न मात्र गएको दाबी गरेका हुन्।

उने भने, ‘उहाँहरूले त्यहाँ गएर खै एउटा कार्यक्रममा सम्बोधन गरेको पनि देखिएन। कार्यक्रममा सहभागी हुने बहानामा जानुभएको हो। उद्देश्य घुम्ने नै हो। सायद यसको खर्च नगरपालिकाले नै व्योहोर्ने त होला नि। त्यस्तो स्पोन्सरमा भए त मै पनि जान्थें होला नि? सरकारी खर्च दोहन नगरौं भनेर हो।’

यता पालिका प्रमुख र उपप्रमुखहरू नै भ्रमणमा निस्केपछि सेवाग्राहीहरूलाई समस्या भइरहेको गुनासो आउन थालेको छ।

प्रकाशित मिति: : 2025-05-13 20:01:00

प्रतिकृया दिनुहोस्