भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले कश्मिरको अवस्था खराब हुनुमा पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु जिम्मेवार भएको आरोप लगाएका छन्।
शुक्रबार लोकसभा बैठकमा प्रतिपक्षी भारतीय कंग्रेस पार्टीले उठाएको प्रश्नको उत्तर दिँदै उनले धर्मको आधारमा भारत र पाकिस्तानको विभाजन गर्नु नै नेहरुको सबैभन्दा ठूलो भूल भएको बताएका छन्।
उनले तत्कालिन गृह मन्त्री सरदार बल्लभ भाई पटेललाई कश्मिरको विषयमा विश्वासमा नलिनु नेहरुको भूल भएको बताए। ‘नेहरुकै गल्तीका कारण आज कश्मिरको एक चौथाई भाग पाकिस्तानको कब्जामा छ,’ प्रतिपक्षी कंग्रेस पार्टीतर्फ औला उठाउँदै शाहले भने।
गृह मन्त्री नियुक्त भएपछि शाहले एक दिनअघि मात्र कश्मिर भ्रमण गरेका थिए। उनले लोकसभा बैठकमा कश्मिरमा ६ महिना राष्ट्रपति शाषन लागु गर्न प्रस्ताव राखेका थिए।
शाहले मुस्लिम बाहुल्य क्षेत्र भएपनि हैदराबाद र जुनागढलाई पटेलले देशमा पूर्ण रुपले गाभेको तर जम्मु–कश्मिरमा धारा ३ सय ७० लागु हुनुमा नेहरु जिम्मेवार भएको दावी गरे।
‘नेहरुको गल्ती अहिले देशले भोगिरहेको छ। विभाजनमा हजारौं मानिसले ज्यान गुमाए। अहिले आतंकवाद पुरै देशभरी फैलिसकेको छ,’ शाहले आतंकवादविरूद्ध आफ्नो सरकार शुन्य सहनशील भएको बताए।