साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने

तस्बिरः एजेन्सी

यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ। 


उद्घाटन र समापनका लागि मुख्यस्थलका रुपमा रहेको दशरथ रङ्गशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रङ्गशाला निर्माणको सम्पूर्ण काम यही मङ्सिर १२ गतेभित्र सम्पन्न हुने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए।

“बुधबारदेखि दशरथ रङ्गशालाको ‘भिआइपी’तर्फको छानो हाल्ने काम शुरु भएको छ, अन्य निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ”, खेलकूद मन्त्री विश्वकर्माले भने। उनका अनुसार साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने काम सकिएको छ। अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ। भिआइपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरु हुनेछ।

दशरथ रङ्गशालाको भिआइपीतर्फको छानो एक हप्ताअघि काठमाडौँ आइपुगेको थियो। स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चिनियाँ विमानमार्फत कार्गो गरेर एक हप्ताअघि नेपाल आइपुगेको थियो। भिआइपी प्यारापिटतर्फको छानो चीनमा तयार भएर आएको हो।

भिआइपीतर्फको छानो र ट्रस हाल्ने काम सँगसँगै अघि बढेकाले अबको तीन\चार दिनभित्र उक्त काम सकिनेछ। निर्धारित समयमा दशरथ रङ्शशाला तयार नभएपछि अहिले बिहान र बेलुका गरी दुई चरणमा करीब २०० भन्दाबढी कामदार खटिरहेको मन्त्री विश्वकर्माले बताए।

विसं २०७२ को भूकम्पले दशरथ रङ्गशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो। दशरथ रङ्गशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन्। यता सातदोबाटोमा रहेको पौडी पोखरीको निर्माण कार्य पनि छिट्टै सकिनेछ।

दशरथ रङ्गशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्स खेल हुनेछ। यस्तै पोखरामा निर्माणाधीन रहेको रङ्गशालाको प्यारापिट जोड्ने काम भइरहको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जानकारी दिएको छ। राखेपका अनुसार निर्माणाधीन मैदानका लागि आवश्यक ‘स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड’ दुई दिनअघि पोखरा पुगेको हो। अबको पाँच दिनभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ।

राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ सागका लागि झण्डै साढे चार अर्ब बजेट छुट्याएको छ। पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ।

नेपालले नै दोस्रोपटक आयोजना गरेको आठौँ सागमा ल्याएको ऐतिहासिक सफलतालाई १३औँ सागमा पुनरावृत्ति गर्ने सरकारको लक्ष्य छ। सन् १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो।

त्यतिबेला नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो। कराते र तेक्वान्दोबाट समान १४÷१४ स्वर्ण जितेको थियो। नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कास्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो।

सन् १९८४ मा नेपालबाट शुरुआत भएको दक्षिण एशियाली खेलको तेह्रौँ संस्करण करीब २० वर्षपछि नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो। पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले बताए। उनका अनुसार प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ सागको उद्घाटन हुनेछ।

सागअन्तर्गतको काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ। प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: : 2019-11-21 17:26:23

प्रतिकृया दिनुहोस्