हामीले साथ दिँदा समेत ओली सरकार भारतविरुद्ध बोल्न सकेन: देउवा

फाइल तस्बिर: बिएल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा सत्तारुढ दल नेकपाले भारतविरुद्ध कुनै कुरा गर्न नसकेको आरोप लगाएका छन्। राष्ट्रिय मुद्धामा सबै राजनीतिक दल एक स्थानमा उभिएर सरकारलाई साथ दिँदा समेत भारतसँग यसविषयमा केही गर्न नसकेको बुझाई उनकाे थियो।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै देउवाले तीनवटै क्षेत्र भारतले नक्सामा राखिरहँदा समेत ओली सरकार समेत भारतविरुद्ध बोल्न नसकेको बताए। 

कालापानी तथा सुस्ता जस्तो विवादास्पद क्षेत्रमा समेतमा कश्मिर जस्तो घटनाक्रम दोहराउने भूमिकामा भारत देखिएको बताउँदै सभापति देउवाले वर्तमान सरकारले यसविषयमा केहीपनि गर्न नसकेको दाबी गरे। उनले भने, ‘दलहरुबीच भएको अभूतपूर्व एकताको अवस्थामा समेत ओली सरकारले काम गर्न सकेन्। हामीले सर्वदलीय बैठकमा समेत सरकारलाई अघि बढ्न सुझाव दिएका थियौ तर, सरकारले केही गर्न सकेन।’

सभापति कै पछिल्लो अभिव्यक्तिप्रति पार्टीकै केन्द्रीय सदस्यहरुले आलोचना गरिरहेका छन् भन्ने सन्दर्भमा देउवाले भने, ‘कालापानी भारतको हो भनेर त बोलेका छैनन् नि। अरु कुरा त हाम्रो पार्टीमा भइहाल्छ नि।

महाकाली सन्धी आफ्नै कार्यकालमा भएको बताउँदै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकाली नदी पूर्वतर्फ पर्ने र भारतको क्षेत्र नदी पश्चिममा भएको उल्लेख गरे। सो सन्धीमा नदीको पानी आधा आधा हुने सम्झौता भएको बताउँदै देउवाले महाकाली नदी छिचोलेर भारतले नक्सामा ती तीन क्षेत्र राखेको प्रस्टाए।

सरकारले ल्याउन लागेका अध्ययादेशका विषयमा उनले भने, ‘सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउने खेलमा लागेको छ। यसप्रकारका अध्यायादेश, आयोगको पक्षमा नेपाली कांग्रेस उभिदैन। त्यसको विरोध गरिरहनेछ।’

मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको बताउँदै देउवाले भने, ‘कम्यनिष्ट सरकारले सत्ता चलाउँदै गर्दा अहिलेसम्म के गर्यो? तलब बढायो, भ्रष्टाचार बढायो यही त हो नि हैन ?’ देउवा चुनावी आमसभालाई सम्बोधन गर्न धरानतर्फ लागेका छन्।

प्रकाशित मिति: : 2019-11-26 16:03:42

प्रतिकृया दिनुहोस्