२०४७ सालबाट मालपोत कार्यालयमा जागिरे भएका नासुकाे १४ करोड ८१ लाख रुपैयाँ सम्पत्ति

प्रतिकारत्मक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायव सुब्बा मदनप्रसाद गुप्तामाथि १४ करोड ८१ लाख रुपैयाँ सम्पति गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार बनेका गुप्ता २०६४ सालमा नासुमा बढुवा भएका थिए। पछिल्लो समय उनी मालपोत कार्यालय सिमराको निमित्त प्रमुख समेत भए। कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनले तलब र अन्य वैध आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्रै आर्जन गरेको अख्तियारको दाबी छ।

गुप्ताले आफूले कमाएको सम्पत्ति श्रीमती रिता देवी, छोराहरु विक्कि गुप्ता र रकि गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरुमाथि पनि मुद्दा चलाएको छ। अनि कविता कुमारी, निरज कुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको छ।

यसैगरी जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई समेत विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ। भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग ६० हजार घुस लिई रहेको अवस्थामा अख्तियारको टोलीले कलवारलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2019-11-26 22:33:04

प्रतिकृया दिनुहोस्