यातायात अधिकृतलाई घुस बुझाउने बिचौलियाविरुद्ध मुद्दा

फाइल तस्बिर: बिएल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका चार बिचौलियासहित पाँचविरुद्ध मुद्दा दायर गरेको छ।

ती विचौलियाले यातायातका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई दैनिक तीन हजारको रकम दिने गरेको खुलेपछि अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार केसी (खड्का) ब्रदर (ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीले मोटरसाइकल पास गरी दिनका लागि शाखा अधिकृत भट्टराईलाई घुस लिएको अनुसन्धानबाट खुलेको छ।

भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरी दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिमार्फत दैनिक तीन हजार घुस लिने गरेको पुष्टि भएपछि मुद्दा दायर भएको हो।

बिचौलियाका रुपमा घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिलाई पनि भ्रष्‍टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति: : 2019-11-28 17:34:02

प्रतिकृया दिनुहोस्