कास्की उपनिर्वाचन : आचारसंहिता निगरानी

प्रतिकारत्मक तस्बिर

कास्की क्षेत्र नं २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा पोखराका विभिन्न स्थानमा सुरक्षा जाँच कडा बनाइएको छ। निर्वाचन विरोधी सम्भावित गतिविधि हुन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको र सुरक्षा व्यवस्थालाई कडा बनाइएको केसीले बताए। उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन सक्ने भन्दै विशेष निगरानी गरिएको बताए।

उनले भने, “मौन अवधिमा जुनसुकै पार्टीबाट पनि निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन सक्छन्। त्यस्ता ठाउँहरुको पहिचान गरेर हामीले निगरानी बढाएका छौँ।”

हालसम्म निर्वाचनलाई प्रभाव पार्न सक्ने केही व्यक्तिको सूचना प्राप्त भएको उनीहरुलाई विशेष निगरानीमा राखिएको पनि उनले जानकारी दिए। कास्कीका ३२ मतदानस्थल र ८२ मतदान केन्द्रबाट ७१ हजार ८७१ जनाले प्रतिनिधिसभा सदस्यका लागि मददान गर्दैछन्। प्रतिनिधिसभा सदस्यका लागि १० स्वतन्त्रसहित २१ जनाको उम्मेदवार छन्।

निर्वाचन आयोगका अनुसार मङ्सिर १४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न पाउने छन्। जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी साधनलाई मात्रै आवतजावत खुला गरिएको छ।

आवश्यक निर्वाचन सामग्रीसहित शुक्रबार नै ८२ मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयम्सेवक मतदानस्थलमा पुगिसकेको कास्कीका निवार्चन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-29 21:37:43

प्रतिकृया दिनुहोस्