चितवन उपनिर्वाचन: मतदान केन्द्रमा सिसी क्यामेरा

फाइल तस्बिर: बिएल

जिल्लाका उपनिर्वाचन हुने तीन वडामा शनिबार बिहान ७ बजेबाट मतदान शुरु भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ एवं ५ मा मतदान शुरु भएको जानकारी दिए। निर्धारित समयमै ती वडाका मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उनले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन्। भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन्।

जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ। मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ। ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन्। जिल्लाका तीन वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको अर्बुद रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: : 2019-11-30 08:19:58

प्रतिकृया दिनुहोस्