अन्तर्राष्ट्रिय क्रिकेटबाट हसिम अमलाको सन्यास

दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान अमलाले बिहिबार सबै खाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

हालै मात्र दक्षिण अफ्रिकाका अर्का क्रिकेटर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका थिए भने न्युजिल्याण्ड क्रिकेटर ब्रेण्डन म्याकलमले पनि सबै फर्म्याटबाट सन्यास लिएका थिए।

एक विज्ञप्ति जारी गर्दै अमलाले यो अवधिमा आफूले धेरै सिक्ने मौका पाएको बताएका छन्। ‘प्रथमत प्रोटेजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसीले भरिपूर्ण थियो,’ उनले भनेका छन्,‘यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको छु र सबैभन्दा महत्वपूर्ण प्रोटी फायरसँग माया र भातृत्व बाँड्ने मौका पाएँको छु।’

दक्षिण अफ्रीकाको लागि टेस्टमा सन् २००४ मा भारत बिरुद्ध डेब्यु गरेका दायाँ हाते ब्याट्सम्यान अमलाले एकदिवसीयमा २००८ मा तथा टि-२० मा २००९ मा डेब्यु गरेका थिए।

१५ वर्ष लामो क्रिकेट करियरमा अमलाले ३४९ अन्तर्राष्ट्रिय खेलहरु खेले। ३६ वर्षीय अमलाले १५ हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने क्रममा ५५ वटा शतक सामेल छ।

अमलाले दक्षिण अफ्रिकाका लागि १२४ टेष्ट, १८१ एकदिवसीय र ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

टेष्ट क्रिकेटमा ९ हजार २८२ रन बनाएका अमला दक्षिण अफ्रिकाका लागि टेष्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। उनले टेष्टमा सर्वाधिक ३११ सहित २८ सतक र ४१ अर्धसतक प्रहार गरेका छन्।

यस्तै १८१ एक दिवसीयमा ८११३ रन बनाएका छन्। यस क्रममा उनले सर्वाधिक १५९ सहित २७ सतक र ३९ अर्धसतक बनाएका छन्।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ४४ खेलबाट १२७७ रन बनाएका छन् यस क्रममा सर्वाधिक ९७ सहित ८ अर्धसतक बनाएका छन्।

उनले बिदा हुने क्रममा परिवारको साथ र प्रार्थनाको लागि धन्यवाद दिँदै उनीहरुकै छत्रछायाँले गर्दा यतिका वर्ष खेल्न सकेको बताए।

‘मेरो परिवार, साथीहरु, एजेन्ट, मेरो टिम मेट, सम्पूर्ण टिमका सदस्यहरु, सपोर्ट स्टाफहरु सबैलाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु। फ्यानहरुले जसले मलाई कठिन समयमा उर्जा दिएका छन् र सफलतामा म संगै खुसि मनाएका छन्,’ उनले भनेका छन्।

यस्तै क्रिकेट साउथ अफ्रीकाका अध्यक्ष र बोर्डलाई विशेष धन्यवाद दिँदै चिफ एक्जुकेटिभ थबाङ मोरोएसहित सबैलाई अवसरहरुको लागि धन्यवाद दिएका छन्।

प्रतिकृया दिनुहोस्