भारतीय क्रिकेट टिमको प्रशिक्षकमा रवि शास्त्रीले निरन्तरता पाएका छन्।
शास्त्रीलाई सन् २०२१ सम्मका लागि क्रिकेट टोलीको प्रशिक्षकमा निरन्तरता दिएको हो।
प्रशिक्षक बन्नका लागि अन्र्तवार्ताका लागि छनोट भएका ६ प्रतिस्पर्धीमध्ये शास्त्री एक थिए। ती ६ जनामध्येबाट तीन सदस्यीय छनोट समितिले शास्त्रीलाई भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा निरन्तरता दिएको हो।
प्रशिक्षणका लागि आवेदन दिनेमा शास्त्रीसँगै भारतका पूर्व खेलाडी रोविन सिंह, लाजचन्द चाजपुत, माइक हेसन, टोम मुडी र फिल साइमन्स थिए।
शास्त्री २०१४ मा टिम निर्देशकका रुपमा भारतीय टोलीसँग जोडिएका थिए। उनले २०१६ सम्म निर्देशकका रुपमा काम गरे। अनिल कुम्बलेले प्रशिक्षक पद छाडेपछि २०१७ मा शास्त्री भारतीय क्रिकेट टोलीको प्रशिक्षक बनेका थिए।
त्यसपछि विराट कोहली र शास्त्रीको केमेस्ट्री जमेको थियो। शास्त्रीकै प्रशिक्षणमा भारतले अस्ट्रेलियामा टेस्ट शृंखला जितेको थियो। भारत आइसिसी टेस्ट वरियातामा पनि नम्बर एक बनेको थियो।
इङ्ल्याण्डमा सम्पन्न आइसिसी एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलबाटै बाहिरिएपछि भारतले नयाँ प्रशिक्षकका लागि आवेदन खुलाएको थियो। त्यसमा शास्त्री स्वत प्रतिस्पर्धी बनेका थिए।
सर्वोच्च अदालतले नियक्त गरेको कपिल देव, अंशुमन गाइकवार्ड र शन्थ रंगस्वामी सम्मिलित छनोट समितीले शास्त्रीलाई शुक्रबार प्रशिक्षकमा निरन्तरता दिएको हो।