इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट यसै सिजन इटाली पुगेका रोमेलु लुकाकुको डेब्यु गोलसँगै इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ।
मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे ।
यससँगै नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे र नयाँ खेलाडी रोमेलु लुकाकुले सिरी ‘ए’ मा सुखद सुरुवात गरेको छ।
प्रशिक्षक कोन्टे लन्डन क्लब चेल्सीबाट बाट तथा खेलाडी लुकाकु यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान पुगेका थिए ।
स्टेडियो जियोसिप्पी मेज्जा मिलानोमा सोमबार राति एकपक्षीय बनेको खेलमा इन्टर मिलानले खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
६०औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि इन्टर मिलान खेलमा ३–० ले अघि बढेको थियो ।
खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएपछि लिचे १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै इन्टरलाई ४-० को जित दिलाए ।
जितसँगै मिलानले १ खेलबाट ३ अंक जोडेको छ । पराजित लिस अंकविहीन छ ।