श्रीलंकाली स्पिनर अजन्ता मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले क्रिकेटको तीनवटै प्रारुपबाट सन्यास लिएका हुन्। उनी लामो समयदेखि श्रीलंकाली टिममा समावेश थिएनन्। उनले १९ टेस्ट, ८७ एकदिवसीय र ३९ टि–२० खेलेका थिए।
सन् २००८ मा भारतविरूद्ध कोलम्बोबाट टेस्ट क्रिकेटको सुरुवात गरेका अजन्ताले अन्तिम टेस्ट २०१४ मा दक्षिण अफ्रिकाविरूद्ध खेलेका थिए। यस पछि उनी श्रीलंकाको टेस्ट टोलीमा अटाउन सकेका थिएनन्।
यस्तै, उनले पोर्ट अफ स्पेनमा वेष्ट इन्डिजविरूद्ध एकदिवसीयमा डेब्यु गरेका थिए। उनले अन्तिम एकदिवसीय २०१५ मा क्राइस्टचर्चमा न्युजिल्यान्डविरूद्ध खेले। टि–२० मा उनको डेब्ु २००८ मा जिम्बाबेविरूद्ध थियो। उनले २०१४ मा इंग्ल्यान्डविरूद्ध अन्तिम टि–२० खेलेका थिए।
याे पनि पढ्नुहाेस।
अजन्ताले १९ टेस्टमा ७० विकेट, ८७ एकदिवसीयमा १ सय ५२ विकेट र ३९ टि–२० मा ६६ विकेट लिएका थिए। टि–२० मा उत्कृष्ट बलिङको कीर्तिमान अहिले पनि उनको नाममा छ।
उनले २०१२ मा आइसिसी विश्व कपमा जिम्बाबेविरूद्ध ८ रन खर्चेर ६ विकेट लिएका थिए। उनी एकदिवसीयमा सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने बलर पनि हुन्। उनले १९ खेलमा ५० विकेट पुरा गरेका थिए। यस अघि यो कीर्तिमान भारतका तीब्र बलर अजित अगरकरको नाममा थियो। उनले २३ खेलमा ५० विकेट लिएका थिए।
याे पनि पढ्नुहाेस।