श्रीया खड्का द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिता अर्न्तगत एकल काँतामा बिहीबार च्याम्पियन भएकी छन्। बाँसबारी स्थित द चाँदवाग स्कुलमा भएको प्रतियोगितामा छात्रतर्फ पुजन र छात्रातर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्।
यस्तै छात्रतर्फ मित्रपार्क डोजो का सोहेन्द्र राना मगर दोस्रो बन्दा आयोजक द चाँदका प्रबिज्ञ कोइराला तेस्रो बने। छात्रातर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भए। काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रातर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे।
मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन्। छात्रतर्फ विभिन्न १० तौल समूह र छात्रा तर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कास्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
दुई दिने प्रतियोगितामा ५ स्वर्ण पदकसहित नवज्ञानभूमि स्कुल पहिलो बन्दा ३ स्वर्ण पदक हात पारेको आयोजक द चाँदवाक दोस्रो र २ स्वर्ण पदक हात पारेको श्री बाँसबारी स्कुल तेस्रो भयो। प्रतियोगितामा छात्रतर्फ द चाँदवागका पुजन तामाङ पुरुष उत्कृष्ट खेलाडी बन्दा छात्रातर्फ इमानियोल डोजोकी एन्जल गुरुङ उत्कृष्ट महिला खेलाडी घोषित भइन्।
विजयी खेलाडीलाई गोजुकाई करातेको मुख्यालय जापानबाट आएका प्रतिनिधि सिन्हान हिदेकी वाकासुगी र नाओतो सुग्युराले पुरस्कार प्रदान गरेका थिए।