श्रीलंकामा जारी यु-१९ एसिया कप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार पाकिस्तान लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ।
सन् २०१७ को फाइनलिस्ट पाकिस्तान गत संस्करणमा पनि पहिलो चरणबाट बाहिरिएको थियो।
प्रतियोगिता अन्तर्गत खेलेका दुबै खेलमा पाकिस्तानले लगातार हार ब्यहोरेको हो।
दुबै खेलबाट अंक जोड्न नसकेका पाकिस्तान र कुवेत दुबै बाहिरिएका हुन्।
समूह ‘ए’ बाट लगातार जित निकालेका अफगानिस्तान र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन्।
यसअघि पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानसँग ७५ रनको फराकिलो हार बेहोर्नुपरेको थियो। अफगानिस्तानले दिएको १६४ रनको लक्ष्य पछ्याउँदा पाकिस्तान मात्र ७८ रनमै समेटिएको थियो।
शनिबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०५ रन बनाएको थियो। भारतका लागि अर्जुन आजादले १२१ रन बनाउने क्रममा १११ बल खेल्दै११ चौका र ४ छक्का प्रहार गरे। ठाकुर तिलक वर्मा नम्बूरीले ११९ बलमा १० चौका र १ छक्कासहित ११० रन बनाएर सतकीय इनिङ्स खेलेपछि भारत ठूलो योगफलतर्फ अघि बढेको थियो।
दोश्रो विकेटको लागि उनीहरूले १८३ रनको साझेदारी गरेका थिए।
पाकिस्तानकाका लागि नसीम शाह र मोहम्मद अब्बास अफ्रिदीले समान ३-३ विकेट लिएका थिए।
जवाफमा ३०६ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४६.४ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै ३४५ रनमा समेटियो।
उसकाका लागि कप्तान तथा विकेट किपर रोहेल नाजिरले सर्वाधिक ११७ रन बनाए। १०५ बल खेलेका उनले १२ चौका, ३ छक्का प्रहार गरेका थिए।
मोहम्मद हरिसले ४३ रन बनाए पनि अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा पाकिस्तान एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएको हो।
पाकिस्तानलाई सस्तैमा रोक्न भारतका अथर्व अंकोलेकरले ३ विकेट लिँदा विद्याधर पाटिल र सुशान्त मिश्राले समान २/२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आइतबार नेपालले बंगलादेशको सानमा गर्नेछ। यस्तै भोलि नै हुने दोस्रो खेलमा आयोजक श्रीलंकाले युएईसँग प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय अनुसार ९:४५ बजे बिहान सुरु हुनेछ। यो प्रतियोगिता नेपालका लागि जित्नैपर्ने बाध्यता छ।
पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासँग पराजित भएपछि नेपाली टिमलाई सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्नको लागि बंगलादेशलाई पराजित गर्नुपर्नेछ। बंगलादेशलाई पराजित गरेको खण्डमा अन्तिम खेलमा युएईलाई नेपालले पराजित गरे नेपाल सेमिफाईनल पुग्ने सम्भावना रहन्छ।
श्रीलंकासँग ५ विकेटले पराजित हुने क्रममा नेपालले दिएको १५९ रनको लक्ष्य घरेलु टिमले ५ विकेट गुमाएर पुरा गरेको थियो।
बंगलादेश बिरुद्ध आइतबारको खेल नेपाली समय ९:४५ बजे बिहान सुरू हुनेछ। खेल पी सारा ओभल मैदानमा खेलिनेछ।
बंगलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरिसकेको छ र नेपाललाई पराजित गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
भोलिनै हुने समूह ‘बि’ अन्तर्गतकै श्रीलंका र युएई बीचको खेलमा श्रीलंकाले जित हात पारे श्रीलंका पनि सेमिफाइनल प्रवेश गर्नेछ।